बारा । बारा जिल्लाको निजगढ नगरपालिकाका ६ वर्षिय रेवक माझीसहित ४ जना खेलाडीले भारतको सिलगुडीमा हालै सम्पन्न प्रथम भारत अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन । प्रतियोगितामा निजगढ ९ स्थित जनज्योति आधारभूत विद्यालय तेक्वाण्डो डोजाङ्गका खेलाडी रेवकसहित सुजला कार्की, शेख नदीम हुसेन र सचिन योञ्जनले स्वर्ण पदक जितेका हुन ।
रेवकले २१ केजी समुह, कार्कीले महिलातर्फ ३७ केजी र नदिमले ४५ केजी तथा योञ्जनले ४८ केजी समुहमा स्वर्ण जितेका हुन । सृजला, नदिम र सचिन निजगढ ८ स्थित गौरीशंकर मावि निजगढमा अध्ययन गर्ने विद्यार्थी हुन भने वर्ष ६ का रेविक निजगढ ७ को विद्यासागर इङ्गलिस स्कुलमा अध्ययनरत छन ।
प्रतियोगितामा सहभागी भएका जनज्योति डोजाङ्गका सबै खेलाडीले स्वर्ण पदक हात पारेको डोजङ्गका एक खेलाडी ईश्वर सापकोटाले जानकारी दिए ।
२१ केजी समुहमा स्वर्ण जित्ने माझी निजगढ ७ का तेक्वाण्डो प्रशिक्षक राज माझीका छोरा हुन । उनी हाल कक्षा १ मा अध्ययनरत छन । उनले ४ वर्षको उमेरदेखि नै तेक्वाण्डोको अभ्यास थालेका थिए। रेविकले यसअघि स्थानीय र राष्ट्रिय स्तरका दर्जनौं प्रतियोगता खेलिसकेका छन । रेविकको खेल नजिकबाट अवलोकन गर्नुभएका जिल्ला खेलकुद विकास समिति बाराका प्रमुख हेमलाल श्रेष्ठका अनुसार उनी प्रतिभाशाली र संभावना बोकेको खेलाडी भएको बताए । कम उमेरमा पनि तेक्वाण्डो खेलप्रति रेविकको वेजोड सीप र क्षमता रहेको छ । प्रतियोगितामा स्वर्ण पदक जित्ने अन्य खेलाडीहरु पनि अब्बल दर्जामा पर्ने जिल्ला खेलकुद विकास समितिका प्रमुख श्रेष्ठको भनाई छ ।
निजगढका खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सो सफलता उत्साहाजनक भएको भन्दै ईश्वर सापकोटाले निजगढमा प्रतिभाशाली र संभावना बोकेका खेलाडीहरु रहेकाले खेलाडीहरुको मनोबल र क्षमताको थप विकासको लागि स्थानीय तहसहित विभिन्न संघसंस्था र खेलप्रेमीहरुले सहयोग गर्नु हुन समेत अनुरोध गरे ।





















Discussion about this post