बारा । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले बाराको कलैयामा भेटेरिनरी अस्पतालको नयाँ भवन निर्माण सम्पन्न नहुँदै (शुक्रबार) उदघाटन गरेको छ ।
प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट दुई वर्षअघि ठेक्का सम्झौता भई निर्माणाधीन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कलैयाको भवन उदघाटन गरिएको हो । ३० प्रतिशत काम अझै बाँकी छ । बाँकी रहेको यो भवनको उदघाटन हस्तान्तरण नभएसम्म गर्न नमिल्ने ठेकेदारका प्रतिनिधिहरुले भन्दा पनि कार्यालय प्रमुख रामकिशोर साहले मन्त्रीको आदेश भन्दै उदघाटन गरे ।
‘नियमले हस्तान्तरण नभएसम्म भवनको उदघाटन गर्न मिल्दैन तर कार्यालय प्रमुखले भने मन्त्रीज्यूलाई पछि समय मिल्दैन त्यसकारण अहिले उदघाटन गर्नु पर्छ र तपाईंहरु काम गर्दै गर्नुहोला ।” अनि हामी चुप लाग्यौं,’ ठेकेदारका प्रतिनिधि सुबोध भण्डारीले संचारकर्मीसंग भने ।
मन्त्री न्यौपाने र कार्यालय प्रमुख रामकिशोर साहले आफ्नो कार्यकालमा भवन बनेको देखाउनका लागि हस्तान्तरण नभएको निर्माणाधीन भवन उदघाटन गरेको स्रोतको दाबी छ । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पाँच करोड ८१ लाख रुपैयाँमा स्लेट र चन्द्रज्योति प्रालि जेभीले भेटेरिनरी अस्पतालको तीनतले प्रशासनिक भवनको ठेक्का पाएको हो ।
यो भवनको ठेक्का पूरा हुने मिति २०८१ साउन १३ गते रहे पनि मन्त्री न्यौपाने र कार्यालय प्रमुख साहले शिलालेखमा नाम लेखाउन हतार गरेको स्थानीय बासिन्दाको आरोप छ ।





















Discussion about this post