२८ वर्षको शैक्षिक यात्रा : प्रधानाध्यापक चौधरीको बिदाइमा आँसु र सम्मान

391
SHARES
514
VIEWS

दिपेन्द्र जयसवाल कोल्हवी । बुधबार  कोल्हवी नगरपालिका–११ को रामपुरमा असाधारण दृश्य देखिन्थ्यो । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको प्राङ्गणमा भेला भएका सयौँ अनुहारमा मिश्रित भाव थियो, गर्व, कृतज्ञता र केही पीडा ।
कारण थियो, विद्यालयका प्रधानाध्यापक गंगाराम चौधरी २८ वर्ष लामो सेवायात्रा पूरा गरेर अवकाश लिँदै थिए ।

विद्यालयका विद्यार्थीहरू फूलको माला बोकेर पंक्तिबद्ध उभिएका थिए । सहकर्मी शिक्षकहरूले टिका र गम्छा लिएर प्रतीक्षा गरिरहेका थिए । अवकाशको सन्देश आएदेखि नै विद्यालय परिवार उत्साहित र भावुक दुवै थियो ।

प्रधानाध्यापकको संघर्षबाट सुरु भएको यात्रा :

चौधरीले तीन दशकअघि सामान्य शिक्षकको रूपमा आफ्नो यात्रा सुरु गरेका थिए । गाउँको सामान्य विद्यालयलाई व्यवस्थित र अनुशासित संस्थामा रूपान्तरण गर्ने सपना बोकेका उनले समयक्रममा चुनौती पनि धेरै भोगे । शैक्षिक सामग्रीको कमी, भौतिक संरचनाको अभाव र विद्यार्थी भर्ना गर्ने चुनौती यी सबैलाई उनले धैर्य र प्रतिबद्धताले पार गरे ।

स्थानीय अभिभावकहरुले “गंगाराम सर नआएको भए यो विद्यालय यत्तिको स्तरमा पुग्थेन होला । उहाँले शिक्षामा लगाएको मिहिनेत हामीले आफ्नै आँखाले देखेका हौँ ।” स्थानीय अभिभावकले भने ।

प्रधानाध्यापकलाई कृतज्ञताको फूलमाला :

कार्यक्रमको सुरुमा विद्यार्थीहरूले गीत गाए, “गुरु विना ज्ञान छैन”। त्यहीबेला चौधरीलाई फूलमालाले सजाइयो । विद्यार्थीहरुको आँखामा चमक थियो तर स्वर भरिँदा भरिँदै रोकियो । विद्यार्थीहरु भावुक मुद्रामा थिए ।

नगरप्रमुख राम प्रसाद चौधरीले उनलाई सम्मान गर्दै भने, “विद्यालयलाई अनुशासन र गुणस्तरीय शिक्षामा रूपान्तरण गर्ने काम गंगाराम सरको योगदानले सम्भव भएको हो ।”

प्रधानाध्यापकको सहकर्मीहरूको आँखामा आँसु :

सहकर्मी शिक्षक दिनेश प्रसाद साहले सञ्चालन गरेको कार्यक्रममा कतिपय शिक्षकहरूको आँखामा आँसु थियो । लामो समय सम्म सँगै अध्यापन गरेका साथी सुर्य प्रसाद चौधरीले भने, “गंगाराम सर हाम्रो लागि गुरु मात्र होइन, मार्गदर्शक पनि हुनुहुन्थ्यो । उहाँको अनुशासन र समयपालन हाम्रो लागि प्रेरणा थियो ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्दु प्रसाद चौधरीले भने, “उहाँको नेतृत्वमा विद्यालयले नगरकै उत्कृष्ट विद्यालयको हैसियत पायो । यो सम्पूर्ण समुदायकै गर्व हो।”

प्रधानाध्यापकको बिदाइ मात्र होइन, नयाँ सुरुवात :

विदाई कार्यक्रममा स्थानीय अभिभावकदेखि लिएर नगरका जनप्रतिनिधिसम्म उपस्थित थिए । नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरी, शिक्षा शाखा प्रमुख मिश्रीलाल साह, वडा सचिव रमेश साह लगायतले चौधरीको योगदानको खुलेर प्रशंसा गरे ।

विदाईमा गम्छा र टिका मात्रै थिएन, कृतज्ञताको भाव पनि मिसिएको थियो । अब चौधरी औपचारिक रूपमा शिक्षक जीवनबाट अवकाश भए पनि समुदायले उनलाई अझै मार्गदर्शकको भूमिकामा देख्ने अपेक्षा राखेको छ ।

प्रधानाध्यापक चौधरी : “विद्यालय मेरै परिवार हो”

बिदाइको अन्तिम क्षणमा चौधरीले भावुक हुँदै भने, “यो विद्यालय मेरो परिवार जस्तै हो । विद्यार्थीहरूको मुस्कान देख्दा हरेक दुख बिर्सिन्थेँ । अब पनि विद्यालय र समाजका लागि सक्दो गर्छु ।”

त्यसपछि विद्यार्थीहरूले हात हल्लाएर “बाइ-बाइ सर” भन्दै विदा गरे । वातावरण भावुक थियो विद्यार्थी र शिक्षक दुवैका आँखामा चम्किएका आँसुले उनका २८ वर्षको योगदानलाई शब्दभन्दा बढी बयान गर्दैथियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित