तिहारले छपक्कै छोपेको छ । बजारमा झिलीमिली बत्ती, फूल, मर-मसला किन्ने र बेच्नेको घुइँचो छ । बिहान सबेरैदेखि झमक्क रात पर्दासम्म तिहारको रमझमले बजारलाई धपक्कै बालेको छ । तर पनि बाल्यकालमा जस्तो तिहारको रौनक कही कतै देखिँदैन।
बाल्यकालको दशैं र तिहार उमेरसँगै ढल्किएर गयो‚ कहिल्यै नफर्कने गरी ।बाल्यकालले आफूसँगै दशैं र तिहारको रौनक पनि लिएर गयो । वैशाख महिना लाग्नासाथ दशैं र तिहार आउने दिन पात्रो पल्टाएर हेरिन्थ्यो । वर्षमा एकपटक बजार जान पाउने, नयाँ लुगा लाउन पाउने, पिङ र देउसी भैलो खेल्न पाउने, साथीभाइ जम्मा हुन पाउनेजस्ता थुप्रै मन फुरूङ्ग पार्ने कुरा थिए ।
वैशाख लाग्नासाथ स्कुलदेखि गोठालो जाँदासम्म साथीभाइसँग दशैंमा कस्तो लुगा किन्ने भन्ने चर्चा हुन्थ्यो । जेठ लागेपछि नयाँ लुगा किन्न बजार जाउँ भन्दै बा-आमालाई करकर गर्दाको रमाइलो छुट्टै थियो ।
छिटोछिटो बारीमा मकैको काम सकेर लुगा किन्न जाने भन्दै बा-आमाले मन लोभ्याउनुहुन्थ्यो । नयाँ लुगा लगाउन र ठूलठूला घर र बजार हेर्न जान वर्ष दिनभरि कुरिरहेका खुट्टा बा-आमाभन्दा पहिले खेतबारीमा पुग्थे । सबैतिरको काम भ्याइसकेपछि असोजमा लुगा महँगो हुन्छ भन्दै बा-आमाले पनि असोजको सुरु तिरै लुगा किनिदिनुहुन्थयो । वर्ष दिनपछि बजार आउँदाको उत्साह अहिले सम्झँदा सपना जस्तै लाग्छ ।
नयाँ लुगा किनेर पुग्दा आफूभन्दा अगाडि नै लुगा हेर्न साथीहरू आएर बसिसकेका हुन्थे । हतारिँदै त्यो लुगा लगाएर साथीहरूको घर चहार्दाको आनन्द पनि बेग्लै थियो ।
अहिलेको तिहार त एउटा औपचारिकता निभाउनका लागि मात्रै आएको जस्तो लाग्छ । बन्द कोठाभित्र भाइटीका लगाएर सामाजिक सञ्जालमा फोटो राख्नका लागि मात्रै मान्छेहरू हतारिएका हुन्छन् ।
पिङ हाल्न भनेर गाउँभरिको साथीहरू भेला भएर बाबियो काट्न गइन्थ्यो ।बाबियोले हात काट्यो भन्दै २-४ दिनसम्म सबै काम ठग्दा कम्ता खुशी मिल्थेन ।हजुरबा र गाउँका पाका हजुरबुबाहरुलाई बाबियो बाट्न लगाएर घरपछाडी खोल्सीमा भएको बाँस काट्न जाने‚ बाँस काटेर लिङ्गो गाँडेर पिङ खेल्ने गरिन्थ्यो । कमेरो र रातो माटो ल्याएर घर रंग्याइन्थ्यो । यसरी दशैंलाई बिदा गरिसकेपछि आउने तिहारको रमाइलोको त झन् जति फेहरिस्त सुनाए पनि सकिँदैन ।यमपञ्चकबाट नै गाउँभरि पाक्ने सेलको बास्ना नाकमा अझै पनि उस्तै ताजै छ ।
दशैं सकिनुअघि नै तिहारको देउसी भैलोको तयारी सुरू भइसकेको हुन्थ्यो आँखामा अझै पनि बाल्यकालका त्यतिबेलाको सम्झनाहरू ताजा नै छन् । जतिबेला तिहार आउनु महिनौं दिनअघिदेखि साथीभाइ जम्मा हुनु, तिहारमा कुन गीतमा नाच्ने भन्दै तयारी गर्नु, भट्याउने, पैसा बोक्ने, चामल र रोटी बोक्ने जिम्मा एकअर्कामा बाँडफाड गर्ने काम तिहार सुरू हुनुअघि नै भइसकेको हुन्थे । लक्ष्मी पूजाको दिन पूजा गरी नसक्दै आफ्नै घरको आगँनमा दाजुभाइ र बहिनी मात्रै भट्याउन थाल्नु पनि बाल्यकालको सबैभन्दा मिठो पल थियो ।
हतारहतार बत्ती बालिसकेर आमाले पूजा गरिसक्दा नसक्दै आगँनमा उभिएर दाजुभाई पालैपालो देउसी भट्याउँथ्यौं । भाईलाई र मलाई ५-५ रूपैयाँ दिनैपर्छ भनेर हामी आन्दोलन नै गर्थ्यौं । त्यसपछि गाउँका साथीभाइसँग भैलीराम भन्न गाउँभरि पुथ्यौं । कतिको घरमा लक्ष्मी पूजा गर्न भ्याएको छैन अलि पछि आउनु भन्दै फिर्ता पठाउँथे । पैसा धेरै दिनेको घरमा अझ धेरै बेरसम्म बसेर भट्याइन्थ्यो । पैसा, चामल र रोटीजस्तो आफूले भनेको परिकार पाएपछि ‘अर्को वर्ष आउँदा यो घरको छाना र ढोका सुनको होस्’ भन्दै आशीष दिएर हिँडिन्थ्यो । पैसा थोरै दिनेको घरमा भने धेरैबेर बसिँदैनथ्यो । उसो त कतिले त ढोका नै खोल्दैनथे । ‘छानामाथि गिरौला, लोभी रहेछ कि मनकारी रहेछ हेरौंला’ भन्दै बोलाइन्थ्यो । त्यति गर्दा पनि ढोका खोलेनन् भने दुःखी भएर अर्कोतिर लागिन्थ्यो । बली राजाले पठाएको भन्दै देउसी र भैलो भट्याउँदै आधा रात बिताइन्थ्यो । देउसी भैलो खेलेर उठेको चामल र पैसा लिएर साथीभाइ सबै घरपछाडिको बारीमा पिकनिक जाने गर्थ्यौं । आगो, पानी, नुन र तेलजस्ता सबै सामान घरबाटै ओसारिन्थ्यो । छोराछोरीले पकाएर खान जान्दैनन् भनेर आमाहरू बारीको पाटामा नै पकाउन सिकाउन आइपुग्नुहुन्थ्यो । भर्खर कोदोको नल काटेको ठोसामाथि गुन्द्री ओच्छ्याएर बसिन्थ्यो र पकाएर खाइन्थ्यो । वर्ष दिनभरि झगडा मात्रै गरेर बसेका हामी दाजुभाइ र बहिनी त्यो एक दिन भने झगडा नगर्ने है भन्थ्यौं । तिहारमा दिदीबहिनीले दाजुभाइलाई पुजा गर्नुपर्छ भन्दै भाईले बहिनीलाई धेरै सताउथ्यो । कहिले यसो गर कहिले उसो गर भन्दै काम लगाएपछि बहिनीलाई जेला गर्यो भन्दै म फनक्क फन्किन्थें ।तर, तिहारको दिनमा भाईले भनेको मान्दिनस् भन्दै भाईले मलाई पनि काम लगाउथ्यो । ती सबै पलहरू अहिलेका लागि त केवल एउटा याद बनेर बसेको छ । पहिलेको तिहार र अहिलेको तिहारलाई हेर्दा जिन्दगीको एक जुग नै पार गरिसकेको आभास हुन्छ । आजभोलि त न भैलिरामका गीत सुनिन्छ न भैलेनीको नाच नै नाचिन्छ । सधैको गीतमा बिहे, छेवार, रमाइलो र जात्रामा जस्तो तिहारको नबजाई अन्य गितहरुमा नाचेको देखिन्छ । उसो त गाउँमा त्यस बेलाको साथीहरू पनि कोही छैनन्
पहिला वर्ष दिनमा एकपटक बजार आइन्थ्यो गैईन्थ्यो । तर, अहिले साथीहरु वर्ष दिनमा एकपटक घर आईन्छ । कोही साथीहरू जागिर बनेर गए, कोही वैदेशिक रोजगारिमा लागे । भएका केही साथीहरूसँग पनि गाउँघरमा खासै भेटिँदैन । साथीहरूका घरसँगै आफ्नो घर जोडिएका छन् । तर न उनीहरू घरबाहिर निस्किन्छन् न म आफैं निस्कन्छु सबै आ-आफ्नो काममा व्यस्त ।मोबाइलमा टिक्टक, इन्स्टा, फेसबूक फ्री फायर र इन्टरनेटको दुनियामा मस्त रमाइरहेका हामीले बाल्यकालको तिहारलाई वर्षौं पहिले नै छोडिसकेका छौं । अहिलेको तिहार त एउटा औपचारिकता निभाउनका लागि मात्रै आएको जस्तो लाग्छ । बन्द कोठाभित्र भाइटीका लगाएर सामाजिक सञ्जालमा फोटो राख्नका लागि मात्रै मान्छेहरू हतारिएका हुन्छन् । तिहारको महत्त्व र विश्वास पनि आधुनिकतर्फ अघि बढिरहेको समाजले भुल्दै गएको जस्तो लाग्छ । पहिला-पहिला पसलमा गएर १ रूपैयाँको एक पुरी बिस्कुट मात्रै दिँदा पनि मुहारमा खुशी छाउथ्यो । तर, अहिले दिदीबहिनीले दाजुभाइलाई दिने र दाजुभाइले दिदीबहिनीलाई दिने कुराहरूमा पनि प्रतिस्पर्धाजस्तो देखिन्छ । तिहारलाई दाजुबहिनीको सम्बन्धको प्रतीकको रूपमा भन्दा पनि महँगो उपहार आदानप्रदान गर्ने पर्वको रूपमा मनाएको देखिन्छ । दाजुभाइ दिदीबहिनीको सम्बन्धलाई अझ बढी बलियो बनाउने कडीको रूपमा रहेको तिहार देखावटी र प्रतिस्पर्धा गर्दै नभई संस्कृतिको संरक्षण गर्दै मनाऔं । सबैलाई २०८१ तिहारको शुभकामना ।
लेखक :सन्चारकर्मी उमेश घलान, निजगढ बारा ।






















Discussion about this post